काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएपछि नेपालमा तीव्र हावाहुरी चल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात कमजोर भई अहिले बलियो न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागले जानकारी दिएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । तर, चक्रवात शक्तिशाली हुँदाको जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था भने नरहेको उनले बताइन् ।
अन्य क्षेत्रको तुलनामा पूर्वी नेपालमा केही भारी वर्षा हुन सक्ने सम्भावना रहेको पोखरेलले जानकारी दिइन्। उनका अनुसार चक्रवातको प्रभाव मुख्यतः बिहीबार र शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान गरिएको छ।
पोखरेलले बिहीबार बेलुकादेखि हिमपात सुरु हुन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
त्यसैगरी, पहिरोको जोखिम रहेका क्षेत्र तथा कच्ची सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। जोखिमपूर्ण क्षेत्रमा अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिँदै उनले राम्रा राजमार्गमा भने डराउनुपर्ने अवस्था नरहेको बताइन् ।
सम्भावित वर्षा, हिमपात तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।