राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकका दोषीलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार रजकको हत्या हुनुका साथै सञ्चार गृहहरूमा तोडफोड र आगजनीका घटना भएका थिए ।
उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल पत्रकार महासङ्घ पर्साका सचिव विजय चौहानले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले घटनालाई दुःखद र अस्वीकार्य भएको बताएका थिए । उनले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने बताएका थिए ।