काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँगको भेटवार्ताको क्रममा लामिछानेले आफ्नो सांसद पद फुकुवा गर्न माग राखेका हुन् ।
पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । आजबाट हिउँदे अधिवेशन अन्त्य हुँदै छ । अधिवेशन अन्त्य हुनुपूर्व सभामुखलाई भेटेर लामिछानेले आफ्नो पद फुकुवा गर्न माग राखेका हुन् ।
त्यसो त लामिछानेले यस अघि पनि संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै सभामुखलाई भेटेर आफ्नो सांसद पद फुकुवा गर्न माग राखेका थिए । तर सभामुख घिमिरेले उनको मागलाई बेवास्ता गरेका थिए ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेलाई संसद सचिवालयले पुस ८ गते निलम्बन गरेको थियो । 