महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा उक्त मात्रामा गाँजा बरामद गरिएको हो ।
ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीका अनुसार पहाडी जिल्लाबाट लुकाइछिपाइ ल्याइएका गाँजा विभिन्न ट्रकमार्फत तस्करी गर्ने प्रयास भइरहेको थियो ।
चैत १० गते बर्दिबास-३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोस्टमा जाँच गर्दा २ क्विन्टल ३५ किलो गाँजा बरामद । चैत ३ गते सोही स्थानबाट ५४७ किलोग्राम गाँजा बरामद, ट्रक चालक सिन्धुपाल्चोकका ३७ वर्षीय सलिन मगर पक्राउ । चैत ८ गते ढल्केबर-जनकपुर सडकखण्डमा जाँच गर्दा ५ क्विन्टल १० किलो गाँजा बरामद ।
प्रहरीले ट्रक चालकसहित तीन जनालाई पक्राउ गरिसकेको छ। तर, मुख्य तस्करहरू अझै पक्राउ परेका छैनन् । महोत्तरीको बर्दिबासलाई तस्करहरूले ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा प्रयोग गरिरहेको सुराकी प्रहरीलाई प्राप्त भएको छ ।
प्रहरीले लागूऔषध तस्करीमा संलग्न मुख्य अभियुक्तहरूको पहिचान गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।