खानेपानी मन्त्री प्रदीप यादवको नाममा रकम लेनदेन गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव अफरोज आलमका बाबु आयुब मिया मन्सुरी रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले निवेदक पक्ष र मन्सुरी पक्षबीच आपसी समझौता भएपछि उनलाई रिहा गरिएको जनाएको छ ।
सीआईबीको निर्देशनमा पक्राउ, समझौतापछि रिहाई
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निर्देशनमा मन्सुरीलाई नियन्त्रणमा लिइएको थियो । तर, दुवै पक्षबीच आपसी सहमतिमा विवाद टुंगिएपछि उनलाई रिहा गरिएको मिश्रले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता सुधीर राज साहीका अनुसार यो मामिला पर्साकै भएकाले जिल्ला प्रहरी कार्यालयलाई समाधानको जिम्मेवारी दिइएको हो । “निवेदक र पीडित दुवै पर्साका भएकाले हामीले जिल्ला प्रहरीलाई नै अघि बढ्न भनेका थियौँ, नभए हेडक्वार्टर पठाउन निर्देशन दिएका थियौँ,” साहीले भने ।
एक करोड ठगीको आरोप
प्रहरी स्रोतका अनुसार मन्सुरीले खानेपानी मन्त्री प्रदीप यादवसँग सेटिङ रहेको भन्दै काठमाडौँका विभिन्न व्यक्तिहरूसँग काम गराइदिने आश्वासन दिएर एक करोड रुपैयाँ ठगेको आरोप छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले यस आरोपको पुष्टि गरेका छन् ।
मन्सुरी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव अफरोज आलमका बाबु हुन् ।
यस विषयमा मन्त्री प्रदीप यादवसँग प्रतिक्रिया लिन खोज्दा उनी व्यस्त रहेको भन्दै आफैं सम्पर्क गर्ने बताएका थिए ।