राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत बुटवलको आदेशपछि आजै गिरफ्तारी दिने घोषणा गरेका छन् ।
शुक्रबार साँझ प्रहरी टोली उनको बुढानीलकण्ठस्थित निवासमा पुगेको पुष्टि भएको छ । लामिछानेले सामाजिक सञ्जालमार्फत अदालतको आदेशको सम्मान गर्दै आफू स्वयं गिरफ्तारी दिन लागिएको बताएका छन् । साथै उनले आफूमाथि ठूलो अन्याय भएको भन्दै न्यायका लागि सबै ढोका ढकढकाउने प्रतिबद्धता जनाएका छन् ।
उनले लेखेका छन्, "सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिदैछु । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । ममाथि ठुलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस् ।"
सुप्रिम सहकारी संस्था प्रकरणमा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । इजलासमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुली रहेका थिए । यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावलोकनको माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो ।
त्यसैगरी, लामिछाने स्वयंले पनि धरौटीको आदेश बदरको माग गर्दै पुनरावेदन गरेका थिए । दुवै पक्षका पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले धरौटी आदेश बदर गर्दै थुनामा पठाउने निर्णय गरेको हो । सोही प्रकरणमा संलग्न मानिएका पूर्व डीआईजी छविलाल जोशीमाथि जिल्ला अदालतले दिएको थुनाको आदेश पनि सदर गरिएको छ । अदालतले संगठित अपराध अन्तर्गत अनुसन्धानको आवश्यकता औँल्याउँदै थुनामा पठाउनुपर्ने निष्कर्ष निकालेको हो ।
लामिछानेले रास्वपाका कार्यकर्तालाई चितवनको सभा नरोक्न निर्देशन दिँदै आफू राजनीतिक प्रतिशोधको सिकार बनेको संकेत गरेका छन् ।