बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थितबाट ठूलो परिमाणमा लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति मकवानपुर, थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङ हुन् । प्रहरीको विशेष टोलीले इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएर विशेष सूचनाका आधारमा जाँच गर्दा मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो ।
प्रहरीका अनुसार, हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनी लुकाइ राखिएको चरेस जस्तो पदार्थ फेला परेको थियो । तराजुमा तौल गर्दा उक्त लागुऔषधको तौल ११.६८ किलो रहेको पुष्टि भएको छ। प्रहरीले चरेसलाई प्लास्टिकमा राखेर लुकाइ राखेको अवस्थामा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दशरथ थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।