काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओली नेतृत्वको सरकारका कारण प्रतिगामी शक्तिहरू सलबलाएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँमा आयोजित नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार अलोकतान्त्रिक, अपारदर्शी र असंवैधानिक तरिकाले अघि बढेको टिप्पणी गरे ।
उनले भने, "प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भए पनि जोगाउने, अन्यका जतिसुकै राम्रो भए पनि लखेट्ने काम यो सरकारले गरिरहेको छ ।" उनले आफूहरू सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गरिरहँदा दलाल र भ्रष्टतन्त्रका कारण सत्ताबाट हटाइएको दाबी गरे । "हामीले राम्रो काम गर्दै थियौं, तर षड्यन्त्रपूर्वक हटाइयो। अहिलेको सरकारले गरेको असंवैधानिक र अपारदर्शी कामप्रति जनतामा आक्रोश छ," उनले बताए ।
प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूलाई चैत १५ गते एउटा सन्देश दिइसकेको उल्लेख गर्दै आगामी सम्मेलनमा देशभरबाट काठमाडौँ आउन सबैलाई आह्वानसमेत गरे ।
उनले आन्दोलनमार्फत प्रतिक्रियावादी सोच र प्रवृत्तिविरुद्ध फेरि ठुलो सन्देश दिने तयारी भइरहेको जनाए ।