काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते, मंगलबार काठमाडौंको बल्खुमा सभा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले भृकुटीमण्डपमा सभा गर्न अनुमति नदिएपछि राप्रपाले वैकल्पिक स्थानका रूपमा बल्खु रोजेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ । यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्ने भनेर जिल्ला प्रशासनलाई जानकारी गराएको थियो, तर सुरक्षा कारण देखाउँदै प्रशासनले बल्खु वा सिफल चौरमा मात्र सभा गर्न दिने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरूको आन्दोलनका कारण भृकुटीमण्डपमा सभा गर्न अनुमति दिन उपयुक्त नरहेको निष्कर्ष जिल्ला सुरक्षा समितिले निकालेको हो ।
राप्रपाले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित सभा आयोजना गर्न लागेको हो । उक्त सभामा संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले पनि समर्थन जनाएका छन् । राप्रपाले सभा शान्तिपूर्ण हुने जनाएको छ ।