राजविराज–७ हटिया बजारस्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा सोमबार राति चोरी भएको छ ।
मन्दिर परिसरमा रहेको दानपेटिका र इस्कान राजविराजद्वारा सञ्चालित धार्मिक पुस्तक पसलको काउन्टरको ताल्चा फोडेर नगद रकम चोरी गरिएको हो । मन्दिरका मूल पुजारी रत्नेश्वर झाका अनुसार पुस्तक काउन्टरबाट डेढदेखि दुई हजार रुपैयाँ र दानपेटिकामा रहेको सबै नगद चोरी भएको छ ।
दानपेटिका २०८१ साल मंसिरदेखि खोलिएकाे थिएन, त्यहाँ ठूलो रकम संचित भएको अनुमान गरिएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव विरेन्द्र गुप्ताका अनुसार दानपेटिकामा कति रकम थियो भन्ने यकिन भन्न नसकिने अवस्था छ ।
चोरी सोमबार राति मन्दिरको अगाडिको भेन्टिलेसन फोडेर प्रवेश गरी गरिएको र पुस्तक काउन्टर तथा दानपेटिकाको ताल्चा फोडिएको पाइएको छ। मंगलबार बिहान मन्दिर खोल्न जाँदा मात्र चोरी भएको थाहा लागेको हो । मन्दिर परिसरमा सिसी क्यामेरा नरहेको र रातको समयमा पुजारीहरू पनि घर फर्कने गरेका कारण चोरी भएको बताइएको छ ।
केही समयअघि राजविराजस्थित शनि मन्दिरमा पनि यस्तै प्रकारको चोरी भएको थियो ।