बारामा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१४ का ४२ वर्षीय सोमबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडाबाट परवानीपुरतर्फ गइरहेको ना १ ह ८९६१ नम्बरको अटो पथलैया चोकस्थित जितपुर सिमरा उपमहानगरपालिका–१ मा चेकजाँचका क्रममा रोकेर जाँच गरिएको थियो । उक्त अटोमा लुकाई छिपाई राखिएको अवस्थामा ३२ किलो लागू औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले अटो रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद भएको हो ।
बरामद गरिएको गाँजा र अटो सहित मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।