बारा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागू औषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी ३५ वर्षीय सरोज प्रसाद साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा अनुसार अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा साहलाई नियन्त्रणमा लिएको हो । जाँचका क्रममा साहले चलाउँदै गरेको प्र।२–०३–००९ प ३८७८ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अवस्थामा लागू औषध अफिम बरामद गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
बरामद गरिएको अफिमको तौल २ किलो ९९ ग्राम रहेको छ । प्रहरीले अफिमसहित मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । अहिले पक्राउ परेका साहमाथि लागु औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागु औषध नियन्त्रणका लागि विभिन्न स्थानमा निगरानी र चेकजाँच अभियानलाई तीव्र बनाएको जनाएको छ । यस किसिमको गिरोहलाई नियन्त्रणमा लिन र स्रोत पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।