भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नं. २ का दुई युवकलाई लागुऔषध ब्राउन सुगरसहित बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् । प्रहरीले विशेष सूचनाको आधारमा निगरानीमा राखिएको ना ३ त ४७१४ नम्बरको ट्र्याक्टर फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा रोकी जाँच गर्दा दुबै भारतिय नागरिक पक्राउ परेका हुन् ।

प्रारम्भिक रूपमा सामान्य जाँचका क्रममा केही शंका लागेपछि ट्र्याक्टरको इन्धन हाल्ने ट्याङ्की खोल्दा प्लास्टिकमा बेरिएको अवस्थामा १५८ ग्राम १ मिलिग्राम खैरो ब्राउन सुगरजस्तो देखिने लागुऔषध फेला परेको बारा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जना सोही ट्र्याक्टरका चालक र सहचालक हुन् । बारा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
यस घटनाले सीमा क्षेत्रमा लागुऔषध ओसारपसारमा भारतीय नागरिक संलग्न रहेको आशंका पुष्टि गरेको र आगामी दिनमा थप निगरानी कडाइ गरिने प्रहरी जनाएको छ ।