रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुर बेलबिछवा नाकामा सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार, सितामढी जिल्लाको बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत नन्दबारा गाउँका २३ वर्षीय किशन कुमार रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले जानकारी दिए । गएराति साढे ९ बजे मदिरा सेवनपछि भएको झगडाको सूचना पाएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट गएको टोलीले किशनलाई जैसवाल मदिरा पसल अगाडिबाट नियन्त्रणमा लिएको हो ।
उनको साथबाट अटोमेटिक पेस्तोल १ थान (बिना म्याग्जिन), कोरेक्स सिरप ३ बोतल, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान, र २ थान हातको बाला बरामद गरिएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटका अनुसार किशन कुमारलाई आवश्यक कारबाहीका लागि राति १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ। साथै, उनले पेस्तोलको म्याग्जिन रातको अँध्यारोमा कतै फालेको हुनसक्ने आशंका गरिएको छ ।