काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई ध्यान नदिई सरकारको स्थायित्व सुनिश्चित गर्ने बताएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
बैठकपछि प्रवक्ता महतले भने, "प्रमुख प्रतिपक्षी दल सरकारको विरोधमा रहेको हो भने सरकार ढलिहालोस् भन्ने स्वाभाविक हुन्छ। प्रचण्डले भनेको कुरामा टिप्पणी गर्नु हुँदैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।"
प्रवक्ता महतले सरकारको समन्वयको महत्त्व र गठबन्धनका दलहरू बीचको सन्तुलनको आवश्यकता पनि औंल्याए । उनले भने, "गठबन्धन सरकार भन्नासाथ एउटै दलको सम्पूर्ण निर्णय लागू नहुने हुन्छ। सबैको कुरा समेट्न र सन्तुलन कायम गर्नुपर्ने आवश्यकता छ ।"
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने विषयमा पनि चर्चा भएको प्रवक्ता महतले बताए । "सरकारले सशक्त डेलिभरी दिन सक्नु पर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ ।"
साथै, बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो राय राखेको र सभापति देउवाले प्रधानमन्त्रीसँग कुराकानी गरिरहेका हुँदा नमिलेका कुरामा सहमति जुट्ने आशा व्यक्त गरेका छन् ।