काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पक्षमा धारणा राख्न पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निर्देशन दिएका छन् ।
बिहीबार बुढानीलकण्ठस्थित निवासमा आयोजित पार्टी बैठकमा सभापति देउवाले सरकारको आलोचना भइरहेको सन्दर्भमा स्पष्ट निर्देशन दिएका हुन् । बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले महामन्त्रीद्वयको विरोधप्रति प्रश्न उठाउँदै सरकारको पक्ष लिने वा नलिने विषयमा द्विविधा व्यक्त गरेका थिए ।
प्रतिक्रिया स्वरूप देउवाले भने, “अहिले दायाँबायाँ केही पनि छैन, सरकारको पक्षमा बोल्ने हो। असन्तुष्टि भए संयन्त्रभित्र राखौं, बाहिर सरकारको समर्थन गरौं ।”
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सत्तारुढ गठबन्धनको उच्चस्तरीय बैठकमा महामन्त्रीद्वयको आलोचनाप्रति असन्तुष्टि जनाउँदै देउवाको ध्यानाकर्षण गराएका थिए ।
महामन्त्री थापा र शर्माले हालै सरकारको कार्यशैलीबारे खुलेर टिप्पणी गरेका थिए। थापाले सरकार प्रचारयोग्य काम गर्न नसकेको टिप्पणी गरेका थिए भने शर्माले आलोचना गर्नुपर्ने सात बुँदे कारण सार्वजनिक गरेका थिए। तर उनीहरूले आफूहरू सरकार परिवर्तनको पक्षमा नभई सुधारको पक्षमा रहेको प्रष्ट पारेका छन् ।
बैठकमा सभापति देउवाले गठबन्धन बलियो रहेको र आगामी निर्वाचनसम्म यसलाई सुदृढ बनाउने रणनीति कायम रहेको बताएका छन् ।