हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ ।
हेटौंडा–४ शितल महलचोकमा रहेको ‘द नाइन्टिन सलोन’ ले आफ्नो सैलुनमा एसी र इन्भर्टरको माग गर्दै दिएको निवेदनमा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तोक लगाइदिएकी छन् ।
सैलुनका सञ्चालक सुसन घलानले गर्मी बढेको र नियमित विद्युत आपूर्ति नभएकाले गुणस्तरीय सेवा दिन एक/एक थान एसी र इन्भर्टरको माग गर्दै सोमबार उपमहानगरपालिकामा निवेदन दिएका थिए। सोही निवेदनमा तोक लगाउँदै मेयर लामाले आर्थिक शाखालाई ‘माग भएका सामग्रीको लागत अनुमान तयार गरिदिनुहुन’ निर्देशन दिएकी छिन् ।
सो तोकको तस्विर सोही सैलुनले टिकटकमा अपलोड गरेका थिए । उक्त तस्विर भाइरल भएपछि त्यसको चौतर्फी विरोध भएको हो ।
मेयर लामाले हेटौँडामा २ युवा मिलेर खोलेको सो सैलुनको उद्घाटन समेत गरेकी थिइन् । उद्घाटनका क्रममा उनले आफूले सैलुनमा एसी जडानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।