काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेजस्ता ठूला र ऐतिहासिक दलहरूले देशमा स्थायित्व, विकास र सुशासनको लक्ष्यका साथ मिलेर सरकार बनाएको बताए। “ढुक्कका साथ विकास निर्माणमा लाग्नुस्,” प्रधानमन्त्री ओलीले भने, “हल्लाको पछाडि लाग्नुपर्ने कुनै आवश्यकता छैन। देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सकिन्छ ।”
उनले चितवन राष्ट्रिय निकुञ्ज हुँदै इच्छाकामना गाउँपालिकामा जङ्गल सफारीको अनुभव लिन सकिने र मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बन्ने बताए ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा चार करोड दुई लाख रुपैयाँको लागतमा बनेको प्रशासकीय भवनको उद्घाटन गरे। इच्छाकामनामा धार्मिक तथा पर्यटकीय सम्भावनाको पनि उनले चर्चा गरे ।
प्रधानमन्त्रीले हालैका दिनमा फैलिएका हल्ला र चर्चालाई अफवाह मात्र भएको उल्लेख गर्दै जनतालाई विकासको बाटोमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।