बारा । महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडकखण्डको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित भुईँपुल नजिक शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैयातर्फ गइरहेको प्र.२–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरियन निवासी ४६ वर्षीय नारायणहरि शर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। कार चालकको भने हालसम्म परिचय खुल्न सकेको छैन ।
गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि निजगढ नगरपालिकास्थित अस्पताल पुर्याइएको थियो। तर चेकजाँच गर्दा चिकित्सकहरूले उनीहरूको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
दुर्घटनापछि टिपर चालक फरार भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।