कपिलवस्तु | सत्तारूढ गठबन्धनभित्रको तनाव थप चुलिँदै गएका बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकार आफैँ ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
शुक्रबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियान अन्तर्गतको सभामा बोल्दै अध्यक्ष दाहालले सत्तासाझेदार दलहरूमाथि कडा टिप्पणी गरे। उनले भने, “कांग्रेस र एमालेलाई माओवादीले बोक्दा उनीहरूलाई फाइदा भयो, तर अब हामी त्यस्तो गल्ती दोहोर्याउँदैनौं ।”
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘भ्रष्टाचार जोगाउन बनाइएको’ आरोप पनि लगाए। उनका अनुसार केही बिचौलियाको चलखेलले देशको विकास निर्माणमा अवरोध पुगेको छ भने भ्रष्टाचार मौलाएको छ। “ओली सरकार कर्मठहरूलाई हटाएर भ्रष्टाचारलाई प्रश्रय दिन बनेको हो,” उनले भने ।
सभापछि अध्यक्ष दाहालले बुद्धसँग जोडिएको ऐतिहासिक स्थल तिलौराकोटको समेत अवलोकन गरेका छन् ।