काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशभरिका पर्यटन स्थल र सार्वजनिक स्थानहरूको उचित संरक्षण र सुरक्षा सुनिश्चित गर्न सरकारसँग आवश्यक पहल गर्नको लागि आग्रह गरेका छन् ।
ताप्लेजुङको पाथीभरा देवी (मुक्कुमलुङ) क्षेत्रतर्फ जाँदै गरेको सवारीमा करेन्ट लागेर तीर्थालुहरूको निधन भएको घटनामा प्रतिक्रिया दिँदै प्रचण्डले यसले सुरक्षित पर्यटन र सार्वजनिक स्थानहरूको महत्व र सुरक्षा सुनिश्चित गर्ने आवश्यकता स्पष्ट गरेको बताएका छन् ।
सो घटनामा दुर्गा भट्टराई, आध्या आचार्य, सरिता पौडेल र विनोद पौडेलको निधन भएको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनले मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग माग गरेका छन् ।
प्रचण्डले भने, "देशभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानहरूको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरुरी छ भन्ने पाठ यो घटनाले सिकाएको छ ।"
त्यसैगरी, उनले मृतक परिवारको पीडा र घाइतेको स्वास्थ्य अवस्थामा सुधारका लागि सरकारको तत्काल ध्यान आकर्षित गर्न माग गरेका छन् ।