काठमाडौं | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई धैर्यतापूर्वक संघर्ष जारी राख्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरूको माग पुराना सम्झौतामै आधारित रहेकाले यो पटक धोका नहुने विश्वास दिलाए ।
उनले भने, “शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको छ, सम्झौता गर्नुभएको छ, तर धोका भएको छ। अब त्यो स्थिति दोहोरिन दिनु हुन्न।”
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शनरत छन्। वार्ता प्रयासहरू भए पनि हालसम्म सहमति हुन सकेको छैन ।
प्रचण्डले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारको गैरजिम्मेवारीपनको अर्को प्रमाणका रूपमा उल्लेख गर्दै भने, “यो सरकार आफ्नै बोझ थाम्न सक्ने छैन । हामी चाहन्छौँ कि सरकारले अझै पनि बुद्धि पुर्याओस् ।”
उनले शिक्षकहरूको माग कुनै नयाँ नभएको र अघिल्लो सहमति अनुसार मात्रै ऐन निर्माणको माग गरिएको स्पष्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओलीले मागप्रति देखाएको नकारात्मक धारणा आपत्तिजनक भएको समेत बताए ।