काठमाडौं | पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरूको मागलाई बेवास्ता गर्दै कुल्चिएर हिँडिरहेको बताएका छन् ।
मंगलवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले भने, “कम्युनिस्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन्, तर झन्डै अढाई लाख शिक्षक सडकमा आन्दोलनरत छन् । यिनीहरूको मागलाई प्रधानमन्त्री कुल्चिएर हिँडिरहेका छन् ।”
खनालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई समेत दुःखद बताउँदै सरकारको असंवेदनशीलता उजागर भएको बताए । “शिक्षामन्त्रीले शिक्षकहरूको माग अलिकति सम्बोधन गरौँ भने पनि प्रधानमन्त्री नटेरेपछि बाध्य भएर राजीनामा दिनुपर्यो,” उनले भने ।
उनले अहिलेको नेतृत्वप्रति जनता निराश र आक्रोशित रहेको उल्लेख गर्दै भने, “जनता रिसाएका छन्, र रिसाएका जनताले के गर्छन् भन्ने कुरा सोच्नसमेत नसकिने अवस्था बनिसकेको छ ।”
खनालले शिक्षा क्षेत्रमा प्रगतिशील परिवर्तन गर्ने घोषणा गरिएको भए पनि अहिले सरकारको व्यवहार ठीक उल्टो रहेको टिप्पणी गरे । “हामीले शिक्षामा परिवर्तन ल्याउँछौँ भनेका थियौँ, तर अहिले कहाँ गयो त्यो कुरा?” भन्दै उनले सरकारको आलोचना गरे।