साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको युरिया मल बोकेको दोस्रो रेल्वे र्याक बिहीबार बिहान वीरगंजको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशनमा आइपुगेको छ ।
२ हजार ५ सय टन मल बोकेको उक्त र्याक कोलकाता बन्दरगाहबाट आएको हो। रक्सौलबाट ट्रकमार्फत मल वीरगंज ल्याइनेछ । यसअघि आइतबार पहिलो र्याकबाट पनि २ हजार ५ सय टन मल भित्रिएको थियो । ग्लोबल टेन्डरमार्फत साल्ट ट्रेडिङले ल्याइरहेको ३० हजार टन युरिया मलको यही कन्साइन्मेन्टअन्तर्गत हालसम्म ५ हजार टन भित्रिएको हो ।
साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेका अनुसार आपूर्तिकर्ता आदित्य बिरला कम्पनीमार्फत चीनबाट आयात भइरहेको युरिया मल क्रमशः भित्रिइरहेको छ। योमध्ये करिब १२ हजार ७ सय ७४ टन मल वीरगंज कार्यालयमार्फत वितरण गरिनेछ ।
भित्रिएको मल वीरगन्जको गोदाममा भण्डारण गरी माग अनुसार विभिन्न जिल्लामा पठाउन थालिएको छ । बिहीबारसम्म हेटौंडामा ६३ टन, काठमाडौंमा ४२ टन र धनुषामा २२ टन मल पठाइसकिएको लामिछानेले जानकारी दिए ।
मधेस, बागमती र गण्डकी प्रदेशका १६ जिल्लामा मल वितरण गरिनेछ। जसमा मधेसका जिल्लाले ७ हजार १ सय ५५ टन, बागमतीका जिल्लाले ३ हजार ९ सय ९६ टन र गण्डकीका जिल्लाले १ हजार ३ सय २३ टन पाउने छन् । सप्तरी र सिरहा जिल्लामा भने कोशी प्रादेशिक कार्यालयमार्फत मल जानेछ ।