हेटौंडा | मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले बिहीवार बिहान साढे ९ बजे पूर्व–पश्चिम लोकमार्गको रातोमाटे चेक प्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा ट्रामाडोल नामक लागूऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली निवासी २५ वर्षीय तीर्थलाल पासवान र २३ वर्षीय सहचालक सुनील पटेल रहेका छन् । उनीहरू मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको पिकअप गाडीमा सवार थिए। गाडी बाराको सिम्रौनगढबाट हेटौंडातर्फ आइरहेको थियो ।
शंका लागेपछि प्रहरीले गाडीको इन्जिन भएको भागमा खानतलासी गर्दा लुकाइ राखिएको पाँच हजार ७५० फाइल ट्रामाडोल फेला परेको हो। उक्त फाइलमा जम्मा ५७ हजार ५०० क्याप्सुल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
बरामद लागूऔषधको बजार मूल्य प्रतिफाइल ७२ रुपैयाँका दरले चार लाख १४ हजार रुपैयाँ हुने प्रहरीको अनुमान छ। पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।