बारा | आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा सरकार मधेसमा लुट मचाइरहेको आरोप लगाएका छन् ।
शुक्रवार बाराको सिम्रौनगढमा आयोजित विशेष भेलामा बोल्दै अध्यक्ष साहले ऐतिहासिक, औद्योगिक र राजनीतिक रूपमा महत्वपूर्ण सिम्रौनगढ सरकारको विभेदका कारण ओझेलमा परेको बताए । उनले भन्सार ऐनमा रहेको ४५ प्रतिशत कमिशनको व्यवस्था नहटाएसम्म मधेसमा भइरहेको सरकारी लुट रोक्न नसकिने जिकिर गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्दै साहले भने, “भन्सार नबुझाएकै कारण कसैको बुवा, बाजेको सम्पत्ति खोसिन्छ, तर हत्यारा, बलात्कारी, कर छल्नेहरूको सम्पत्ति जफत हुँदैन – के यही हो संविधानले दिएको सम्पत्ति अधिकार ?”
उनले सरकारलाई सिधा प्रश्न गर्दै मधेसको ऐतिहासिक सहर सिम्रौनगढमा किन आजसम्म भन्सार कार्यालय खोलिएको छैन भन्ने जिज्ञासा पनि राखे। बारा जिल्लामा यति ठूलो औद्योगिक सम्भावना हुँदाहुँदै पनि सरकारले बेवास्ता गरेको आरोप उनले लगाए ।
साहले हुलाकी राजमार्ग ६ लेनको हुनुपर्नेमा सरकार त्यसप्रति उदासीन रहेको बताए। “३ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकारले समृद्ध नेपाल बनाउँछु भन्ने कुरा हास्यास्पद छ,” उनले भने ।
युवा नेता नविन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा आजपाका नेताहरू समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा, उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबू कुशवाहालगायतको सहभागिता थियो ।