काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेसहित श्रमिकमैत्री नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।
ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले श्रमिकहरूको पूर्ण अधिकार सुनिश्चित गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाशक्ति विदेशिनुका सट्टा स्वदेशमै ज्ञान, सीप, लगानी र समृद्धिको वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।
देउवाले संविधानले रोजगारी, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको स्मरण गराउँदै श्रम ऐन तथा ट्रेड युनियन ऐन जस्ता कानूनहरू आफ्नो कार्यकालमै आएको जानकारी दिनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको सम्मान र भविष्य सुनिश्चित गर्ने बताउँदै स्थानीय तहमा श्रम डेस्क स्थापना र सुरक्षाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले लोकतन्त्रमा श्रमिक अधिकार सुरक्षित हुने बताउँदै नेपाली कांग्रेस सधैं श्रमिक हितमा अग्रसर रहेको जिकिर गर्नुभयो ।