काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हालको सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान संशोधनका विषयमा सत्तारूढ दलहरू गम्भीर नदेखिएको टिप्पणी गरे ।
उनले भने, “दुई ठूला दल काँग्रेस र एमाले सरकारमा छन्, तर संविधान संशोधन प्राथमिकतामा परेको देखिँदैन ।” उनले सरकारले २०८७ सालमा संशोधन गर्ने भनिए पनि त्यो कुरा व्यवहारमा आएको छैन भने ।
अध्यक्ष नेपालले संविधान लागू भइसकेको दशकपछि यसको समिक्षा आवश्यक भएको बताए । उनले संविधानमा जनताको मौलिक हक सुनिश्चित गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको चिन्ता व्यक्त गरे ।
कार्यक्रममा उनले नेपालमा राजसंस्था फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारे । “राजसंस्था इतिहासमा हराइसकेको संस्था हो, त्यसलाई फर्काउने कोसिस गर्नेलाई सपना नदेख्न आग्रह गर्दछु,” उनले भने ।
राजसंस्था फर्काउने भन्दै हिंसात्मक प्रयास गर्नेहरूलाई लक्ष्य गर्दै उनले ती प्रवृत्तिहरूले आफ्नो वास्तविक रूप देखाइसकेको बताए ।
उनले समाजवादी मोर्चाले शान्तिपूर्ण र प्रभावशाली कार्यक्रम गरेर जनतामा सकारात्मक सन्देश दिएको पनि जिकिर गरे । साथै, जनताका छोराछोरी राष्ट्रपतिको हैसियतमा पुग्ने व्यवस्था कायम गर्न र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।