वीरगंज | नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध आवतजावत र आतङ्ककारी गतिविधि रोक्न अब सीमा नाकामा अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ ।
सीमामा अवैध गतिविधि राेक्न अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ । वीरगंज नजिकैको सीमावर्ती क्षेत्रका विभिन्न नाकामा यो नियम कार्यान्वयनमा ल्याइएको हो ।
विशेषगरी भारततर्फका सुरक्षाकर्मीहरूले आतङ्कवादी गतिविधि नियन्त्रण गर्न सकस महसुस गरेपछि दुवै देशका प्रशासनबीचको समन्वयमा परिचयपत्र अनिवार्य गराउने निर्णय गरिएको हो ।
भारतमा हालैका दिनमा देखिएको आतङ्कवाद र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा सतर्कता अपनाइएको छ । भारतका गृह मन्त्रालय अन्तर्गतका सुरक्षाकर्मीहरूका अनुसार पाकिस्तानी र बङ्गलादेशी नागरिकहरूले नेपाली भूमिको प्रयोग गरी भारत प्रवेश गर्न सक्ने अशंकाले सीमाको दुरुपयोग रोक्न र वास्तविक यात्रुको पहिचान सुनिश्चित गर्न यो नियम लागू गरिएको हो ।
यो नियम लागू भएसँगै नेपाली पक्षबाट भारत जान चाहने व्यक्तिले अनिवार्य रूपमा नागरिकता, राहदानी, चालक अनुमतिपत्र वा सरकारी कार्यालयले जारी गरेको परिचयपत्र देखाउनुपर्नेछ । भारतबाट नेपाल प्रवेश गर्नेहरूले पनि भारतीय मतदाता परिचयपत्र, आधार कार्ड वा सरकारी परिचयपत्र पेस गर्नुपर्नेछ ।
सुरक्षा सतर्कता अत्यन्त आवश्यक भएको कारणले आम जनताको सहजता र सुरक्षाबीच सन्तुलन कायम गर्न परिचयपत्र अनिवार्य बनाइएको हो ।
यसले सुरक्षा मजबुत हुनेछ भने, व्यवसायी, मजदुर तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणहरूलाई भने यसले केही असहज बनाउन सक्छ ।
सीमामा बिना परिचयपत्र जान खोज्ने, नक्कली कागजात प्रयोग गर्ने वा सुरक्षाकर्मीको आदेश अवज्ञा गर्नेहरूमाथि कडाइका साथ कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।