वीरगंज | पर्सा जिल्लामा विवाह, ब्रतबन्ध, पार्टी र उत्सवजस्ता कार्यक्रमहरूमा पटाका, आतिशबाजी र डिजे प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लामा बढ्दो ध्वनि प्रदूषण र सुरक्षा समस्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।
बुधवार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला बैठकले यो निर्णय लिएको हो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तलगायतको उपस्थिति रहेको थियो ।
प्रजिअ अर्यालले डिजे सञ्चालनलाई क्रमशः निरुत्साहित गर्दै जान सहमति भएको जानकारी दिए । हाललाई राति १० बजेपछि डिजे प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ । निकट भविष्यमा सबै सरोकारवालासँग समन्वय गरेर डिजेमा पूर्ण प्रतिबन्ध लगाइने पनि अर्यालले बताए ।
जिल्ला प्रहरी प्रमुख मिश्रले निर्णयको पालना नगर्नेहरूलाई कारबाही गरिने बताए। सशस्त्र प्रहरी प्रमुख धिमालले सीमाबाट डिजेका उपकरण, पटाका तथा आतिशबाजीजन्य वस्तुहरू भित्र्याउनेमाथि निगरानी र कडाइ गरिने जानकारी दिए ।
होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष पन्तले पार्टी प्यालेसमा अग्रिम बुकिङका कारण तुरुन्तै डिजेमा पूर्ण प्रतिबन्ध सम्भव नभएको भन्दै हाललाई राति १० बजेपछि डिजे प्रयोग निषेध गर्ने सहमति भएको बताए ।
बैठकमा संघका महासचिव माधव बस्नेत, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत, पर्यटन कार्यालय प्रमुखलगायतको उपस्थिति थियो ।