वीरगंज उद्योग वाणिज्य सङ्घले खुद्रा व्यवसायीहरूका समस्या सम्बोधन गर्न शनिवार आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सङ्घको सभाहलमा आयोजित कार्यक्रममा वीउवासङ्घका अध्यक्ष हरि गौतमले खुद्रा व्यवसायीहरूलाई कानूनी दायराभित्र रही व्यवसाय गर्न सुझाव दिएका छन् । उनले दैनिक रूपमा खुद्रा व्यवसायीहरूले भोग्दै आएका समस्याप्रति सङ्घ संवेदनशील रहेको उल्लेख गर्दै समाधानका लागि निरन्तर पहल गरिरहेको बताए ।
"खुद्रा व्यवसायीहरू हाम्रा व्यावसायिक संरचनाको मेरुदण्ड हुन् । उनीहरूको समस्या हाम्रो पनि समस्या हो," अध्यक्ष गौतमले भने, "यसको समाधानका लागि हामी पूर्ण रूपले प्रतिबद्ध छौं ।"
साथै, उनले व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्क र समस्या समाधान प्रक्रिया सहज बनाउन एक साताभित्र निःशुल्क हटलाइन सेवा सुरू गर्ने घोषणा गरे । हटलाइनमार्फत व्यवसायीहरूले भन्सार, प्रहरी प्रशासन, करलगायतका समस्याहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्, र त्यसको समाधानका लागि वीउवासङ्घ सम्बन्धित निकायसँग समन्वय गर्नेछ ।
कार्यक्रममा सहभागी खुद्रा व्यवसायीहरूले भारतबाट सामान ल्याउँदा भन्सार प्रक्रियामा अनावश्यक झन्झट, प्रहरी प्रशासनको असहयोगपूर्ण व्यवहार, र राज्यको व्यवसायप्रति उदासीनता लगायतका गुनासा राखे ।
व्यवसायीहरूले राज्यलाई ठूलो परिमाणमा राजस्व योगदान दिँदासमेत सम्मान र सुरक्षा नपाएको गुनासो गर्दै, आफूहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न आग्रह गरे ।
अन्तर्क्रियामा वीरगंजका विभिन्न क्षेत्रका खुद्रा व्यवसायीहरूको सहभागिता रहेको थियो ।