वीरगंज | पर्सा जिल्लाको छिपरमाई गाउँपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम भेला सम्पन्न भएको छ । रास्वपा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका जिल्ला सभापति हरि पन्त, केन्द्रीय सदस्य डा. नन्दन यादवलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै सभापति पन्तले युवाको नवीन सोच र सुझबुझ नै देश विकासको आधार भएको बताए। उनले आगामी २०८४ को आम निर्वाचनमा नेपाली जनताले रास्वपाको सिद्धान्त र सोचलाई अनुमोदन गरेर देशको नेतृत्व युवाको हातमा सुम्पने विश्वास व्यक्त गरे ।
भेलाले राजु कुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। उपाध्यक्षमा हरदेव सहनी, सचिवमा निरज साह सुनार, कोषाध्यक्षमा अशोक राउत कुर्मी रहेका छन् भने सदस्यहरूमा रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्ण सहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी पाण्डे र जीत महतो चयन भएका छन् ।
भेला रास्वपाका संगठन विभागका उपप्रमुख प्रमोद रायमाझीले सञ्चालन गरेका थिए। कार्यक्रममा खेलकुद सामग्री वितरण गरी खेलाडीहरूको मनोबल बढाइएको क्षेत्रीय सभापति मिश्रले जानकारी दिए ।