वीरगंज | वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
भवन निर्माणमा १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानि पुर्याइएको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
मुद्दामा संलग्नहरूमा अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर, सहरी विकास तथा भवन कार्यालय पर्साका इन्जिनियर राजेन्द्र साह, सकुर अन्सारी, अस्पतालका नायब सुब्बा शुशिलप्रसाद यादव, लेखापाल सुदिप कुमार माझी, मूल्याङ्कन समिति संयोजक डा. विरेन्द्रबहादुर प्रधान, सदस्य–सचिव माधवी चौधरी, निर्माण कम्पनी लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा र बिष्णुप्रसाद शर्मा रहेका छन् ।
अख्तियारका अनुसार, भवन निर्माणको ठेक्कामा इन्टरलक ब्लकलाई मुख्य आइटम बनाएर अन्य प्रस्ताव अस्वीकृत गरियो, जसबाट मिलेमतो गरी प्रतिस्पर्धा सीमित पारिएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत टायललाई मुख्य संरचनाको हिस्सा बनाई ठेक्का दिइएको पाइएको छ ।