काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति संसदको होइन, सरकारको छायाँ बनेको आरोप लगाएका छन् । आइतबार बसेको लेखा समितिको बैठकमा सांसद सिंहले समितिको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री र मुख्य सचिवलाई अहिलेसम्म समितिमा नबोलाउनु आपत्तिजनक भएको बताए ।
सांसद सिंहले भने, ‘लेखा समिति आजको दिनमा सरकारको छाया हो, यस्तो हुनु हुँदैन । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन ।’
उनले लेखा समितिको काम कारबाहीमा गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्री र मुख्य सचिवलाई बोलाउन नसकेकोप्रति गुनासो गरे । सिंहले थपे, ‘मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन । लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ । दुई वर्षसम्म किन बोलाउन नसकेको ?’
सांसद सिंहको भनाइले लेखा समितिको स्वायत्तता र प्रभावकारिता सम्बन्धी बहस पुनः चर्किएको छ ।