भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एउटा गभर्नर नियुक्ति गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्नु उपयुक्त नहुने बताएका छन् ।
रुपन्देहीको पिप्रा महजिदिया बजारमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई तिहाईको शक्तिशाली सरकार आफ्नै भारी बोक्न नसकेर ढल्न लागेको टिप्पणी गरे ।
‘राष्ट्र बैंकको गभर्नर खाली भएको महिनौं भइसकेको छ, तर सरकार किचलोमै अल्झिएको छ,’ साहले भने, ‘दुई तिहाईको सरकार गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था हुनु आफैंमा सुशासनविरुद्धको प्रमाण हो ।’
उनले कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति कार्यान्वयन नभएको, नीति तथा कार्यक्रम कांग्रेसले अपनत्व नलिएको, प्रधानमन्त्री ओलीको नेतृत्व असफल भएको र कांग्रेसले गलत साक्षी बसिरहेको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा देश असफल हुँदै गएको, आन्दोलनरत विभिन्न समूहको चासोबारे सरकार बेखबर रहेको, सरकार मिथ्या तथ्यांकको भरमा टिकेको बताए ।