वीरगंज । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा आज वीरगंजमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढाउन र जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । उनले जोखिमाङ्कनको महत्त्वलाई जोड दिँदै दाबी भुक्तानीमा समस्या नआउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ओझाले बीमा कम्पनीहरूलाई बीमा ऐन र नियमको पालना गर्न र बजारमा कुनै समस्या नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओझाले प्रदेश र स्थानीय स्तरमा बीमा सम्बन्धी समस्याबारे प्राधिकरणलाई जानकारी दिन आग्रह गरे । कार्यक्रममा बीमा कम्पनीका प्रमुखहरूले प्रदेश कार्यालयमा अधिकारको अभाव, जनशक्ति कम, कृषि बीमाको सिफारिश र क्षतिको निरीक्षणमा कठिनाई, क्यास ब्याकमा चलखेल, अस्वस्थ प्रतिस्पर्धा, जनचेतनाको अभाव र दाबी प्रक्रियामा सुधारको आवश्यकता जस्ता समस्याहरू उठाएका थिए ।
कार्यक्रममा वीरगंजस्थित जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।