काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच करिब २ घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको यस छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालन लगायतका समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी भएका थिए। बैठकपछि गृहमन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबीच छलफल भएको जानकारी गराएका छन् । मन्त्री लेखकका अनुसार, टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग—सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । यद्यपि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरिएको छैन ।