‘मेहनतले एक दिन रंग ल्याउँछ’ भन्ने भनाइलाई सार्थक तुल्याउँदै वीरगंजकी महिला सञ्चार उद्यमी कविता खड्का ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर २०२५’ सम्मानबाट पुरस्कृत भएकी छिन् ।
उक्त सम्मानको साथमा उनलाई नगद रू. ५१,००० (एकाउन्न हजार) रूपैयाँ समेत प्रप्त गरेकी छन् ।काठमाडौंमा आयोजित एक विशेष समारोहमा खड्कालाई उक्त सम्मान प्रदान गरिएको हो ।
सो अवार्ड विभिन्न उद्यम क्षेत्रमा उल्लेखनीय कार्य गरेर नयाँ महिला नेतृत्व स्थापित गर्ने व्यक्तित्वलाई दिइन्छ । कविता खड्का वीरगंजबाट प्रकाशित हुँदै आएको 'मध्य नेपाल’ साप्ताहिक पत्रिकाकी सम्पादक हुन् । उनले १२ वर्षदेखि मध्य नेपाल पत्रिका तथा अनलाइन मार्फत स्थानीय मुद्दा, महिला सशक्तिकरण, विकास तथा पारदर्शी शासन प्रणालीमा केन्द्रित सामग्री सम्प्रेषण गर्दै आएकी छिन् ।
खड्का विगत एक दशकदेखि पत्रकारिता र सञ्चार उद्यममा सक्रिय छिन् । उनी महिला नेतृत्व र सञ्चार क्षेत्रमा सशक्त उपस्थिति जनाएका कारण यो सम्मान दिइएको आयोजक संस्थाले जनाएको छ ।
“यो सम्मानले मेरो जिम्मेवारी झनै बढेको छ । स्थानीय आवाजलाई अझ मजबुत बनाउँदै, महिला पत्रकारिता र सञ्चार उद्यममा नयाँ पुस्तालाई उत्प्रेरित गर्ने लक्ष्यमा काम गर्ने पत्रकार कविता खड्काले बताइन ।” उनले सञ्चारमाध्यम मार्फत आवाजविहीनको आवाज बनेको, सामाजिक मुद्दाहरूमा केन्द्रित रहेर पत्रकारिता गर्दै आएको र महिलालाई आत्मनिर्भर बनाउने अभियानमा आफूले नेतृत्व गरिरहेको जानकारी दिइन् ।
उनको प्रयासले वीरगंज क्षेत्रमा महिला सञ्चारकर्मीहरूलाई अघि ल्याउने वातावरण तयार गर्न सहयोग पुगिरहेको पत्रकार महासंघ पर्साले जनाएकाे छ ।