काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको समयसीमा सकिँदासम्म पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नभएपछि प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन विकल्पमा छलफल भएको छ।
प्रधानमन्त्रीले वैशाख २५ भित्र गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाए पनि सिफारिस समिति बैठकसमेत बस्न नसकेपछि प्रक्रिया अवरुद्ध भएको हो ।
बिहीबार बालुवाटारमा ओली–देउवाबीच गभर्नर नियुक्ति विषयमा छलफल भएको थियो। छलफलमा पहिलो विकल्पका रूपमा डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने विषयमा कुरा उठाइएको थियो । भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए तर कायममुकायम गभर्नर नीलम ढुंगानाले अहिलेसम्म स्वीकृति दिएकी छैनन् ।
दोस्रो विकल्पमा ढुंगानाको स्थानमा अर्को व्यक्तिलाई कायममुकायम गभर्नर तोक्ने विषयमा छलफल भयो। राष्ट्र बैंक ऐन २०५८ अनुसार अर्थमन्त्रीले वरिष्ठ डेपुटी गभर्नरलाई कायममुकायम तोक्न सक्ने प्रावधान छ ।
तेस्रो विकल्पका रूपमा गुणाकर भट्ट बाहेक नयाँ नाम अघि सार्ने विषयमा पनि छलफल भएको छ । भट्टको नाममा सहमति भए पनि यदि उनको नियुक्ति प्रक्रियागत रूपमा अघि बढ्न नसकेमा नविल बैंकका पूर्व सिइओ ज्ञानेन्द्र ढुंगानालगायत अन्य नाम पनि विकल्पका रूपमा विचार हुने देखिएको छ ।
कांग्रेस नेताहरूले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भन्दै देउवालाई चाँडो निर्णय गर्न दबाव दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री ओली गभर्नर नियुक्तिमा सकारात्मक रहेको र राष्ट्र बैंकभित्रको प्रक्रिया समस्या बनेको बताए।
गभर्नर नियुक्तिका लागि कांग्रेसले दिएको नाममा प्रधानमन्त्री ओली तयार देखिए पनि प्रक्रिया र आन्तरिक अवरोधका कारण निर्णय अझै लम्बिएको हो ।