काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ दलहरूबीच कुनै मतभेद नरहेको बताएका छन् ।
शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि प्रक्रिया अगाडि बढिरहेको बताए। ‘गभर्नर नियुक्तिको विषय छलफलकै प्रक्रियामा छ,’ उनले भने, ‘सरकारले छिट्टै निष्कर्षमा पुर्याउँछ। कुनै असमझदारी छैन ।’
उनले आगामी केही दिनभित्रै सरकारले उपयुक्त पात्रलाई नियमित प्रक्रियाबाट नियुक्त गर्ने बताए। गभर्नर पद कुनै दलको होइन भन्दै उनले सरकारले समयमै निर्णय गर्ने विश्वास व्यक्त गरे ।
फरक प्रसङ्गमा बर्तौलाले संविधानविपरीत गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइनुपर्ने धारणा राखे ।