पाकिस्तानसँगको बढ्दो सैन्य तनावका कारण भारत सरकारले देशको उत्तर र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू आगामी मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
भारतीय नागरिक उड्डयन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीरमा रहेका प्रमुख विमानस्थलहरूमा तत्कालका लागि उडान सेवा स्थगित गरिएको जानकारी दिएको हो । "उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन्," विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले सबै एयरलाइन्स र उडान सेवा प्रदायकहरूलाई वैकल्पिक मार्गको योजना बनाउन पनि आग्रह गरेको छ ।
हालको द्वन्द्वपूर्ण परिस्थितिका कारण सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यस निर्णयको कारण हजारौं यात्रु प्रभावित हुने अनुमान गरिएको छ भने वैकल्पिक मार्गको खोजीमा एयरलाइन्सहरू व्यस्त छन् । उत्तरी भारतका सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
भारतीय सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ सीमामा खटिएका छन् भने हवाइ सुरक्षा पूर्वतयारीका रूपमा विमानस्थलहरू बन्द गरिएका हुन् ।
विशेषज्ञहरूका अनुसार यदि द्वन्द्व अझ चर्किँदै गयो भने रेल, सडक यातायात र अन्य सार्वजनिक सेवा पनि प्रभावित हुने सम्भावना बढ्दो छ ।