सप्तरी | भारत–पाकिस्तानबीचको चिसिएको सम्बन्धबीच नेपालका विभिन्न जिल्लामा विदेशी नागरिकहरूको आवागमन बढिरहेको बेला सप्तरीमा ६ जना बंगलादेशी नागरिक भेटिएका छन् ।
हनुमाननगर कंकालनी नगरपालिका–३ स्थित भारदहको रहमानीया जामे मस्जिदमा ती विदेशी नागरिकहरू धर्म प्रचारको लागि आएको जनाइएको छ । मस्जिदका सेक्रेटेरी सरिफ रहमानका अनुसार उनीहरू बंगलादेशको ढाकाबाट ४ महिनाका लागि काठमाडौं हुँदै मोरङ, सुनसरी हुँदै सप्तरी आइपुगेका हुन् ।
उनीहरू ‘अराइभल भिसा’मा नेपाल आएका थिए । तर भिसाको म्याद गत मार्चमा सकिएपछि विराटनगरस्थित अध्यागमन कार्यालयमार्फत आगामी जुन २०२५ सम्मका लागि भिसा थप गरिएको देखिएको छ ।
हालका वर्षहरूमा तराई मधेसका जिल्लाहरूमा धर्मान्तरको गतिविधि तीव्र रूपमा बढिरहेको जनगुनासो रहँदै आएको छ । कतिपयले यसमा राज्यको नियन्त्रण कमजोर रहेको टिप्पणी गरेका छन् ।