युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका प्रत्यक्ष वार्ताको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै स्वागत गरेका छन् ।
पुटिनले रूस–युक्रेन युद्ध अन्त्य र दीगो शान्तिका लागि टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ता गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई जेलेन्स्कीले प्रत्यक्ष रूपमा स्वीकार नगरे पनि ‘युद्ध अन्त्यको सोच सुरु हुनु सकारात्मक संकेत हो’ भन्दै सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाएका हुन् ।
जेलेन्स्कीले युद्ध सक्न चाहने हो भने त्यसको पहिलो सर्त युद्धविराम हुनुपर्ने स्पष्ट पारे। साथै, उनले रूसलाई आगामी मे १२ देखि पूर्ण युद्धविराम सुरु गर्न अपेक्षा व्यक्त गरेका छन् ।
यसअघि बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका नेताहरूले किभमा जेलेन्स्कीलाई भेट गरी ३० दिनको युद्धविराम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई अमेरिकाले समेत समर्थन गर्दै रूसमाथि दवाव सिर्जना गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि रूसलाई दवाव दिँदै आएका छन् भने मध्यपूर्व हेर्ने उनका विशेष दूत स्टिभ विटकोफले पनि पटक–पटक पुटिनसँग छलफल गरिसकेका छन् ।
तर पुटिनले नेटो सदस्यता, सैन्य सिमांकन, तथा भू–भाग स्वामित्वसम्बन्धी कडा माग राख्दै युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । युरोपेली देशहरू तथा अमेरिकाले रूसमाथि प्रतिबन्ध थप गर्ने चेतावनीसमेत दिएका छन् ।