वीरगंज महानगरपालिका वडा नं. १६ नगवा बस्ने २० वर्षीया आलिया खातुनलाई मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पीडित नाबालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित एक होटलमा यौन शोषणको उद्देश्यले लगिएको थियाे ।
पीडित किशोरीको उजुरीपछि इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले वैशाख २७ गते राति नै उक्त किशोरीको उद्दार गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट यसअघि पनि आलिया खातुनले यस्तै प्रलोभन देखाएर नाबालिकाहरूलाई भारत पुर्याई यौन शोषणमा संलग्न गराउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले आलिया खातुनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले बताए ।
उनका अनुसार, “यो मानव तस्करीको गम्भीर विषय हो, जसमा किशोरीहरूलाई लालच देखाएर यौन शोषणमा धकेलिन्छ ।
हामी थप प्रमाण संकलन गर्दैछौं र यस घटनामा संलग्न अरू सम्भावित व्यक्तिहरूको खोजी पनि गरिरहेका छाैँ ।”