काठमाडौं । तीनकुने घटनाका क्रममा पक्राउ परेका सबै देशभक्त–राष्ट्रवादी कार्यकर्ताको कानूनी जिम्मेवारी राप्रपाले लिने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी हिरासतमा रहेका सबैको कानुनी प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने घोषणा गरेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, संयुक्त जनआन्दोलन समितिको बैठकमा अध्यक्ष लिङदेनले कानूनी प्रक्रियामा लाग्ने सम्पूर्ण आर्थिक दायित्व र कानुनी सहायताको व्यवस्था पार्टीले गर्ने स्पष्ट पारेका हुन् । यसका लागि राप्रपासम्बद्ध कानून व्यवसायी तथा अधिवक्ताहरूलाई तयारी गर्न भनिएको छ ।
पार्टीको यस्तो कदमलाई राजावादी नेताहरूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्। राप्रपाले पक्राउ परेकाहरूको पक्षमा ठोस कदम चाल्दै कानूनी लडाइँ लड्ने संकेत दिएको छ ।
गौरतलब छ, १५ चैतमा तीनकुनेमा भएको आन्दोलनको आयोजना दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले गरेको थियो, तर त्यसको प्रत्यक्ष जिम्मेवारी संयुक्त जनआन्दोलन समितिले नलिएको हो। प्रमुख आयोजक दुर्गा प्रसाईं पनि अहिले प्रहरी हिरासतमा छन् ।