काठमाडौैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीलाई ‘लुटेरा प्रणाली’को संज्ञा दिँदै त्यसले देशको हित नमिलाउने बताएका छन् ।
सोमबार सुर्खेतमा आयोजित वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले करोडौँ खर्च नगरी आम जनताको पहुँचमा आधारित निर्वाचन प्रणाली आवश्यक रहेको बताए ।
प्रचण्डले भने, ‘‘करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन । दलित, उत्पीडित, महिला, आदिवासी सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली हुनुपर्छ ।’’
उनले संविधान संशोधनको बहानामा प्रतिगामी शक्तिहरू सक्रिय भएको भन्दै अब क्रान्तिकारी र प्रतिगामी शक्तिबीच कडा टसल हुने दाबी गरे । त्यस्तो टसलमा सबै उत्पीडित समुदाय सचेत हुनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रचण्डले आफ्नो नेतृत्वमा सरकार सञ्चालनका क्रममा ल्याइएको विशेष प्याकेज केपी ओली नेतृत्वको सरकारले कटौती गरेकोप्रति कडा आलोचना गरे । उनले गरिब, पिछडिएको वर्गलाई लक्षित कार्यक्रमलाई कमजोर तुल्याउने प्रयास भएको भन्दै त्यसको प्रतिवाद आवश्यक रहेको बताए ।