बागमती नदीको बहावका कारण हरेक वर्ष बाढीको मार खेप्दै आएका चन्द्रपुर नगरपालिका–१ का बासिन्दाले नदी किनारमा निर्माणाधीन तटबन्धको कार्य रोकिएपछि चिन्ता व्यक्त गरेका छन् ।
बाढी नियन्त्रण तथा बस्तीको सुरक्षाका लागि अत्यावश्यक मानिएको तटबन्ध निर्माणमा विवाद सिर्जना भएसँगै रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादव, प्रहरी प्रमुख, डिभिजन वन कार्यालयका प्रतिनिधि, अन्य सरोकारवाला निकायका अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
बिहीबारदेखि तटबन्ध निर्माणको काम रोकिएपछि जोखिममा परेका स्थानीयले काम पुनः सुरु गर्न माग गर्दै अनुगमन टोलीसँग खुला आग्रह गरेका छन् । अनुगमनकै क्रममा स्थानीयवासीहरू बाक्लो संख्यामा उपस्थित भई प्रमुख जिल्ला अधिकारी खड्कासमक्ष विगतका बाढी पीडा सुनाउँदै यसपटकको निर्माण कार्यलाई कुनै हालतमा नरोक्न आग्रह गरे । उनीहरूले तटबन्ध निर्माण नगरिए बाढीले खेतबारी मात्र होइन, घरसमेत बगाउने खतरा रहेको बताए ।
तटबन्धले भु-क्षय रोकथाम र बस्ती सुरक्षा
मधेश प्रदेश सरकार अन्तर्गत ऊर्जा तथा सिंचाइ मन्त्रालयको लागत साझेदारीमा निर्माण भइरहेको सो तटबन्धले बागमती नदीको बहावका कारण हुने भू-क्षय नियन्त्रण गर्न सहयोग पुर्याउनेछ । स्थानीय श्रीराम न्यौपानेका अनुसार तटबन्ध निर्माणले आगामी वर्षातमा बाढीको त्रास घट्छ ।
प्रमुख जिल्ला अधिकारी खड्काले विकास निर्माणका कामहरू दीर्घकालीन, समावेशी र वातावरणमैत्री हुनुपर्नेमा जोड दिए । उनले डिभिजन वन कार्यालयको अनुमतिबिना कुनै निर्माण कार्य अगाडि बढाउन नपाइने स्पष्ट पार्दै आवश्यक कागजात, वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायहरूको सहमतिपछि मात्रै कार्य अगाडि बढ्नसक्ने बताएका छन् ।
जिल्ला समन्वय समितिका सभापति यादवले नदी किनारमा बनाइँदै गरेको तटबन्धले केवल संरचनागत सुरक्षा मात्र होइन, विकासको प्रतिनिधित्व गर्ने बताए । उनले बाढी नियन्त्रण संरचनाहरू निर्माण गर्दा सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिएका छन् ।