महोत्तरी जिल्लाको औरही नगरपालिका–४ कठुधारबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो पक्राउ परेका व्यक्तिहरूमा सम्सी गाउँपालिका–७ का २५ वर्षीय रवि साह र भारत, बिहारको सितामढी कनवा बस्ने २० वर्षीय रितेश साह रहेका छन् । स्थानीय कठुधार अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई ठूलो रकमसहित फेला पारेको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूको साथबाट स्रोत खुल्न नसकेको नगद ८ लाख रुपैयाँ बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरूलाई पक्राउ गरी हाल आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त रकमको वैध स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।