सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका–३ का १७ वर्षीय मोहम्मद फैसल र सुनसरीको देवांगञ्ज गाउँपालिका–६ का १७ वर्षीय राजा मेहता बेपत्ता भएका छन् ।
फैसल वैशाख १७ गते जनकपुरस्थित इस्लाममियाँ सनफियाँ मदरसा जान घरबाट निस्किएपछि बाटोमै हराएका हुन् भने मेहता जेठ २ गते राजविराजमा बेहुलीसँग आएका बेला सम्पर्कविहीन भएका हुन् ।
फैसललाई उनकी आमा संजिला खातुनले विसनपुर चौकसम्म छोडेकी थिइन् र खर्चका लागि ३५०० रुपैयाँ दिएकी थिइन् । उनले चढेको बस जनकपुर गएकै भए पनि फैसल भने मदरसामा नपुगेपछि परिवार चिन्तित बनेको छ । अर्का किशोर राजा मेहता भने जेठ १ गते बिहे सकेर मलेठमा थिए। जेठ २ गते बिहानसम्म देखिएका उनी त्यसपछि सम्पर्कविहीन बनेको परिवारजनले बताएका छन् ।
परिवारका अनुसार दुबै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय कडोरबोना, इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिइएको छ । प्रहरीका अनुसार दुबै किशोरको हुलिया विवरण सबै प्रहरी इकाइमा पठाइएको छ र खोजी कार्य जारी छ ।
समाजसेवी तथा भूमि समस्या समाधान आयोगका सदस्य मोहम्मद अनवर अलीले किशोरहरू यसरी हराउनु गम्भीर विषय भएको भन्दै राज्य र समाज दुवैले खोजतलासमा सहयोग गर्नुपर्ने बताएका छन् ।