पर्सागढी नगरपालिका–९ बडेर्वाबाट सालको काठसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
सबडिभिजन वन कार्यालय, बडनिहारबाट खटिएको गस्ती टोलीले बिहान २ बजे पर्सागढी नगरपालिका–१ गुलरिया निवासी ३५ वर्षीय रामसुरत चौधरी थारूलाई पक्राउ गरेको हो । जमदार जीतबहादुर तामाङ नेतृत्वको टोलीले साइकलमा लोड गरिएको अवस्थामा सालको गोलियासहित रामसुरत चौधरी थारूलाई नियन्त्रणमा लिएको हो ।
गस्ती टोलीका प्रमुख तामाङका अनुसार चौधरीले बडनिहार राष्ट्रिय वन क्षेत्रबाट अवैधरूपमा सालको रूख काटी त्यसको गोलिया साइकलमा बोकेर ल्याउँदै गरेका थिए । उनको साथबाट करिब सात क्यूफिट सालको काठ बरामद गरिएको छ । पक्राउ परेका चौधरीलाई काठसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगंज पठाइएको गस्ती टोलीले जनाएको छ ।
वन ऐन अनुसार वन क्षेत्रबाट बिना अनुमति काठ कटानी तथा ओसारपसार गर्नु गैरकानुनी हो । वन कार्यालयले यसलाई गम्भीर प्रकृतिको अपराध मानेर कारबाही अघि बढाउने बताएको छ ।
भिडियाे सामाग्री